समाज

सम्पूर्ण किताबको स्थापना दिवसमा छात्रालाई शैक्षिक सामग्री

इकागज |
भदौ २३, २०८० शनिबार १६:५३ बजे

भरतपुर- सम्पूर्ण किताब नारायणगढले छैटौँ स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयकी एक छात्रालाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । सम्पूर्ण किताबले नारायणगढमा शनिबार आयोजना गरेकाे स्थापना दिवस विशेष कार्यक्रममा इच्छाकामना गाउँपालिका-७ स्थित श्री देउराली राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा विमला तामाङलाई झोला, कपडा, कापी, कलम, ज्यामिती बक्स, बालकथा, क्यालकुलेटरसहित शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

प्रसिद्ध कवि गोविन्दराज विनोदी, एलबी क्षेत्रीसहित जिल्लाका स्रस्टा एवम् पुस्तक व्यवसायीहरूको उपस्थितिमा छात्रालाई उक्त सामग्री उपलब्ध गराइएको हो ।


२०७५ सालमा स्थापना भएको सम्पूर्ण किताबले विशेष गरी साहित्यिक पुस्तकहरूको बिक्रीवितरणसँगै विमोचन, अन्तरक्रिया तथा छलफल कार्यक्रमहरू गर्दै आइरहेको छ । उद्घाटनका क्रममा पनि छात्रालाई शैक्षिक सामग्री उपलब्ध गराएको सम्पूर्ण किताबले हरेक वर्ष स्थापना दिवस मनाउने क्रममा सोही कामलाई निरन्तरता दिइरहेको सञ्चालक लेखराम सापकोटाले बताए ।

स्थापना दिवस विशेष कार्यक्रममा जिल्लाका थुप्रै साहित्यिक स्रस्टाहरूको जमघट थियो । शुभकामना मन्तव्यका क्रममा सम्पूर्ण किताबले व्यापारसँगसँगै साहित्यिक किताबको प्रचारप्रसार, बिक्रीवितरण तथा स्रस्टाहरूलाई लेखनमा समेत प्रोत्साहन गरेको भन्दै स्रस्टाहरूले प्रसंशा गरेका थिए । स्थापना दिवसको अवसर पारेर सम्पूर्ण किताबले `दशैं तिहार पुस्तक मेला-२०८०´ पनि शनिबार बाटै सुरु गरेको छ । मेलामा नेपाली, अङ्ग्रेजी तथा हिन्दी साहित्यका पुस्तकहरू १०% देखि ५०% सम्मको सहुलियतमा राखिएको सञ्चालक सापकोटाले बताए ।


Author

थप समाचार
x