समाज

काठमाडौँ उपत्यका र काभ्रेका सेवाग्राहीले जिल्लाबाट सात दिनमै राहदानी पाउने

विभागमा पुग्छन् दैनिक १५ सय सेवाग्राही

इकागज |
भदौ २४, २०८० आइतबार १६:३७ बजे

काठमाडौँ- राहदानी विभागले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका सेवाग्राहीलाई सात दिनमै जिल्लामा पासपोर्ट उपलब्ध गराउन थालेको छ । काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकका सेवाग्राहीले राहदानीका लागि आवेदन  दिएमा सात दिनमा जिल्लाबाट पासपोर्ट पाउन थालेका हुन् ।

विभागका प्रवक्ता कुमार राईले काठमाडौँ उपत्यका लगायत केही जिल्लाका सेवाग्राहीलाई सातै दिनमा राहदानी उपलब्ध गराउन जिल्लामा प्रत्येक साता राहदानी पठाउन थालिएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय आफ्नो कार्यतालिका बनाएर सेवाग्राहीलाई राहदानी वितरण गर्ने छन् । विशेषगरी काठमाडौँ लगायतका चार जिल्लाले यो सुविधा पाउने छन् ।


तराईको जिल्लामा १३ दिनमा राहदानी बनाएर पठाउने गरेको उनले बताए । जिल्लामा सेवाग्राहीले पासपोर्ट बढीमा २० दिनमा पाउन सक्ने प्रवक्ता राईले बताए । पहाडी जिल्लामा  एक महिनामा पासपोर्ट पुग्ने उनले जानकारी दिए ।

पछिल्लो समय जिल्लाबाट सेवाग्राहीले सहजै राहदानीको फारम पाउँन थालेपछि विभागमा भीडभाड कम हुन थालेको छ ।

‘ विभागबाट सेवाग्राहीले आवेदन दिएमा १५ दिनमा नयाँ फारम भर्न पाउनेछन्,’ उनले भने,’ विगतमा जस्तो अहिले विभागमा भीडभाड घटेको छ ।‘

दैनिक १५ सयले नयाँ राहदानीका लागि आवेदन दिने गरेको राईले जानकारी दिए । जिल्लाबाट राहदानीका लागि सहज हुन थालेपछि भीडभाड घटेको उनको भनाइ छ । यसअघि दैनिक २ हजारदेखि २५ सय सेवाग्राही विभागमा पुग्ने गरेका थिए ।

झापा, मोरङ,सुनसरी, रुपन्देही र कास्कीबाट बढी राहदानीका आवेदन पर्ने गरेको उनले जानकारी दिए । बढी जनसंख्या भएको जिल्लाबाट राहदानीको आवेदन पर्ने गरेको उनले बताए ।

विभागले भीडभाड नियन्त्रण गर्न दैनिक बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १ सय ५० देखि २ सयसम्म राहदानी अलोटमेन्ट गरिरहेको छ । विभागमा भीडभाड नियन्त्रण गर्न अलोटमेन्ट गर्दा पाएकै समयमा आउनलाई सेवाग्राही पुग्नुपर्ने छ ।

विभागमा अलोटमेन्ट गरेका सेवाग्राहीहरू बिहानैदेखि लाइन बस्दा विभागमा बढी भीडभाड हुने गरेको उनले बताए । बिहानको समयमा विभागमा भीडभाड हुने गरेको छ ।

‘सेवाग्राहीहरू तोकिएको समयमा पुगेमा विभागमा भीडभाड हुँदैन थियो,’ उनले अगाडि थपे,’ तोकिएको मितिभन्दा अगाडि सेवाग्राही आउँदा भीडभाड हुने गरेको छ ।‘

त्यसैगरी, सेवाग्राहीले ७७ जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट राहदानीको फारम भर्न पाउनेछन् । १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नेपाली नियोगहरूबाट राहदानीको अलोटमेन्ट भइरहेको छ ।

विभागबाट दैनिक ६ हजार पासपोर्ट तयार भइरहेको उनले जानकारी दिए ।

 

 


Author

थप समाचार
x