समाज

सुन तस्करीः वर्षमान पुनका विश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान

इकागज |
भदौ २५, २०८० सोमबार ८:२२ बजे

काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । विध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पूर्व मन्त्री पुनका विश्वास पात्र मानिन्छन् । 

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखा परे पछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।   


नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्व मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।  

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेकाे भण्डारीले छाेटाे समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीविरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरिएकाे छ । उनकाे सम्पति राेक्का गरी मुद्दा चलाइरहेकाे बेला हालै भएकाे ६० केजी सुन तस्करी प्रकरणमा अस्वभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजाे बाेलाएर साेधपुछ गरेकाे हाे । बयान नसकिए पछि साेमबार पनि थप बयान हुने जनाइएकाे छ । 

 


Author

थप समाचार
x