समाज

महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता

इकागज |
भदौ २८, २०८० बिहीबार १३:२५ बजे

दार्चुला- दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाको  महाकाली नगरपालिका-१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएको  दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनकाअनुसार बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका हुन् ।


नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ । सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो । एसएसबीले फर्काएपछि भुलले महाकालीमा हाम फालेका थिए । डीएसपी सिंहले एसएसबीले नेपालतर्फ फर्काएको विषयमा औपचारिक रुपमा जानकारी प्राप्त नभएको बताए ।


Author

थप समाचार
x