Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

समाज

घरबार धान्न ज्यान दाउमा राखेर निउराेकाे व्यापार

इकागज |
असोज ५, २०८० शुक्रबार १४:२१ बजे

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनी तीन वर्षदेखि यही पेसा गर्दै आएकी छन्।    
विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झर्नुभएकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन् । सो  काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनी निउरो बिक्री गर्न थालेकी हुन् । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उनले भनिन् ।    
    
दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन् । “घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ”, उनले भनिन्, “दुःखै गरेर भए पनि आफ्नो दैनिकी सजह रुपमा चलेको छ ।” ५० वर्ष पुग्नुभएकी विकले जङ्गलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फकिइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन् । “अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु”, उनले भनिन् ।    
    
 मासिक रू तीन सयको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले सुनाइन् । उनले भनिन्, “ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।” रू एक सयको निउरो किन्दा रू १० सम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ ।    
    
 रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिन् । उनको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आउनुभएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छिन् ।    
    
 “अहिले उमेर ढल्ँिकदै गयो । अरु काम गर्न सकिदैन् । दिनभरि सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु”, उनले भनिन्, “सके आफँै जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।” आफँैले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो ।    
    
 उनले गुनासो पोखिन्, “चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग रू १० मा चित्त नबुझे फालेर हिँड्छन् ।” सरदरमा दैनिक रू एक हजारदेखि एक हजार दुई सयसम्म कमाउँदै आउनुभएकी मगरले साँझ ७ः३० बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको सुनाइन् ।    
    
 भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आएकी छन् । विगत छ महिनाअघि देखि यो पेसामा लागेकी तामाङ आफँै निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउनुहुन्छ । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताइन् । उनले भनिन्, “काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै पर्‍यो ।”    
    
पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताइन् । उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताइन् । अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो ।



Author

थप समाचार
x