समाज

औषधि व्यवसायी कुटपिट घटना : छानबिन गर्न बन्यो समिति

इकागज |
जेठ १३, २०७८ बिहीबार २०:५२ बजे

वीरगंज : पर्साको वीरंगजमा एक औषधि व्यवसायीलाई प्रहरीले पसलमै प्रवेश गरी कुटपिट गरेको घटनाको छानबिन गर्न प्रदेश-२ प्रहरीले छानबिन समिति बनाएको छ । वीरगंज महानगरपालिका ८ घण्टाघर नजिक रहेको प्याथो सर्जिकल हाउसका संचालक अप्रोज महमदलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले पसलभित्रै पुगेको भिडियो सार्वजनिक भएको थियो । त्यो घटनाको छानबिन गर्न प्रदेश २ प्रहरीले प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो । 

प्रदेश प्रहरीका प्रवक्ता उपरीक्षक प्रसाईद्वारा जारी विज्ञप्तिमा कोभिड-१९ महामारीबाट जनताको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न जारी निषेधाज्ञा पालना गराउने क्रममा वीरगंज घण्टाघरस्थित पसल संचालनकर्तालाई प्रहरीले गरेको गैरव्यवसायिक घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।


समितिले अनुसन्धानमा प्रहरी कर्मचारी दोषी देखिएमा नियमानुसार कारबाही गर्न सिफारिस गर्ने विज्ञप्तिमा उल्लेख छ । प्रहरीद्वारा औषधि व्यवसायी कुटिएको सामाजिक सञ्‍जालमा सिसिटीभी फुटेज सार्वजनिक भएपछि तत्कालै प्रदेश प्रहरीले समिति बनाएर छानबिन प्रक्रिया थालेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले भने निषेधाज्ञा पालना गराउन पसल बन्द गराइरहेको भिडियो खिचेपछि हातपात भएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता नायब उपरीक्षक ओमप्रकाश खनालले सर्जिकल हाउस छेउमा रहेको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो बनाएपछि नायब उपरीक्षक कार्कीले मोवाइल खोस्‍ने क्रममा उनीमाथि हातपात गरेको बताएका छन् ।


Author

थप समाचार
x