नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ
वराहक्षेत्र- सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
बिहीबार प्रहरीले सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक राईलाई इटहरी ६ बाट र सङ्खुवासभाकै मकालु नगरपालिका ६ का अजय राईलाई इटहरी ३ बाट विशेष सूचनाको आधारमा १ हजार दरको १५ सय ८७ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो ।
आज शुक्रबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँसहित विवेक राई र अजय राईलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरूको साथबाट नोकिया कम्पनीको सादा मोबाइल एक थान, ओप्पो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान पनि बरामद गरेको छ ।
नियन्त्रणमा रहेका विवेक र अजय राईलाई थप अनुसन्धानका लागि आजै जिल्ला अदालत सुनसरीबाट मुद्रा सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सुनसरीमा पछिल्लो समय नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय बनेको छ । एक महिना अगाडि सुनसरीको रामधुनी नगरपालिकाबाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले रामधुनी नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपैयाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया