समाज

चितवनका टुहुरा गैंडालाई कोशी टप्पु पठाइने

इकागज |
असोज ६, २०८० शनिबार १३:४९ बजे

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ ।

असोज १० गते उक्त दुई गैँडालाई कोशी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोशी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको उनले बताए ।


कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो । प्रतिोेदनमा कोशीमा गैडाको उपयुक्त वातावरण निर्माणका साथै सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाएर लान भनिएको ढकालले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल गैँडा छैनन् ।  चितवनबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि त्यहाँको वातावरणमा घुलमिल भए पछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ ।

कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो ।  
अहिले पुष्पा करिब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् । गैँडा पठाउनका लागि सबै तयारी भइसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताए । गैडा पठाउनको लागि पुरानो खोरलाई पनि मर्मत गरिएको छ । पछिल्लो गणना  अनुसार चितवनमा ६ सय ९४ गैँडा रहेको तथ्याङ्क छ ।
 


Author

थप समाचार
x