समाज

दिल्लीबाट धनगढी आइपुगेको बसभित्र ३७ लाख मूल्य बराबरका अवैध सामानसहित एकजना पक्राउ

इकागज |
असोज ६, २०८० शनिबार २१:४६ बजे

कैलाली- कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट यात्रुवाहक बसमा भारतबाट अवैध सामानको तस्करी हुने गरेको पाइएको छ । भारतको दिल्लीबाट धनगढी आइपुगेको बसभित्र झण्डै ३७ लाख मूल्य बराबरका अवैध सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज (शनिबार) यात्रुवाहक बसभित्र ठूलो परिणाममा अवैध सामान फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले ठूलो परिणाममा समान बरामद गरिएको बताए ।


उनका अनुसार धनगढी उपमहानगरपालिका–३ भन्सार नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको बसभित्र अवैध सामान फेला पारिएकाे थियाे । बस धनी धनगढी उपमहानगरपालिका–१ का ३३ वर्षीय पुरन मगराठीको ना ५ ख २८१६ नम्बरको बसलाई चेकजाँच गर्दा ती सामान फेला पारिएको डिएसपी चन्दले बताए ।

बसभित्र गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय रमेश बिकले भारतबाट अवैध रूपमा भित्र्याएका मोबाइल गाडीका पार्टहरू र बससहित करिब ३६ लाख ८० हजार ८ सय मूल्य बराबरका बिनाबिलका अवैध सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ । बसभित्र अवैध रूपमा भित्र्याएका सुपर ग्लास १३० थान, स्मार्ट ग्लास ८८, सिट फोल्ट गर्ने हाइड्रोलिक १०, पुरानो कलोज पिलेट र वासर २, डिग्गीको सकेट ४, बुस वासर ६, सिट स्पिरिङ १, पेचकस १ र ना ५ ख २८१६ नम्बरको बससहित प्रहरीले आफ्नो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए ।


Author

थप समाचार
x