समाज

हिंसा पीडित महिलाले गरिन् आवास गृहमै आत्महत्या

इकागज |
असोज ७, २०८० आइतबार १४:५९ बजे

सांकेतिक तस्बिर

सुर्खेत- कालिकोटमा एक महिलाले आवास गृहमै आत्महत्या गरेकी छन् । लामो समयदेखि श्रीमान् तथा आफन्तबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी २५ वर्षीया गीता जैसीले आत्महत्या गरेकी हुन् ।

केही दिनदेखि एक गैरसरकारी संस्थाको संरक्षणमा रहँदै आएकी उनले आज बिहान संरक्षक कर्मचारी खाना गएको बेला शौचालयको ढोकामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए ।


‘यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ,’ केसीले भने, ‘संरक्षण गरिरहेको संस्थाको घरमा नै मृत्यु भएको छ ।’

दैलेख भगवतीमाई गाउँपालिका–५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी गीतालाई लामो समय श्रीमानले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । श्रीमानले दोस्रो विवाह गरेपछि उनले कालिकोट जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् ।

मानसिक यातनाकै कारणले सान्नीत्रिवेणी–१ लुसा माइत भएकी गीता र उनका चार वर्षीया छोरा टेकेन्द्रसहित केही दिनअघि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको चार दिनपछि उनी नेपालगञ्जमा भेटिएकी प्रहरीले जनाएको छ । ‘नेपालगञ्जमा फेला परेसँगै प्रहरीले उनलाई आफन्तलाई जिम्मा लगाएको थियो । तर, आफन्तले उनलाई बुझ्न मानेनन्,’ केसीले भने, ‘आफन्तहरूले नै उनलाई स्वीकार नगरेपछि हामीले संरक्षणका लागि संस्थाको जिम्मा लगाएका थियौँ । त्यहाँ बस्दै आएकी उनले आज विहान एक्कासी आत्महत्या गरेको पाइयो ।’


Author

थप समाचार
x