मानव अधिकार आयोगले सरकारलाई भन्यो– ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले फुटपाथ व्यापारीको बाँच्न पाउने अधिकारका लागि सत्याग्रह गरिरहेका अयिभन्ता ईःको जीवन रक्षाका लागि सरकार र काठमाडौँ महानगरसँग अपील गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न सरकार र महानगरसँग अनुरोध गरेको हो ।
विगत ९ दिनदेखि काठमाडौँ महानगरको कार्यालय, राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘यस सम्बन्धमा आयोगका माननीय सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले हिजो स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ‘ई’ र उनका साथीहरू एवम् धर्नास्थल वरपरका व्यापारीहरू सँग छलफल गरी जानकारी लिएको थियो,’ आयोगका प्रवक्ता टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस वक्तव्यको अगाडि भनिएको छ, ‘रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ‘ई’को दुवै खुट्टा अस्वभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधी सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ ।’
महानगर ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील नरहेको भन्दै आयोगले चिन्ता पनि व्यक्त गरेको छ । समस्या समाधानका लागि आयोगले महानगरका अधिकारीहरू सँग छलफल गरिरहेको पनि जनाएको छ ।
ईःले उठाएका साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको र नेपालको संविधानले पनि देशको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको आयोगको भनाइ छ ।
‘नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ । संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले आफ्नो जीवन नै जोखिममा पारी कठीन प्रदर्शन नगर्न अभियन्ता ईःसँग पनि अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया