समाज

कारबाहीमा पर्ने भएपछि सहकर्मीलाई याैन दुर्व्यवहार गरेका एसएसपी पालले दिए राजीनामा

क्वाटरमा बाेलाएर एसएसपीले महिला हवल्दारलाई भनेका थिए- ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं’

इकागज |
असोज १५, २०८० सोमबार १०:२७ बजे

कैलाली । सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले कारबाहीमा परिने डरले राजीनामा दिएका छन्। 

छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थाहा पाउने बित्तिकै कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका पालले राजीनामा दिएका हुन्। प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कठायतले बताए ।


के भएकाे थियाे घटना ? 

आफ्नै कार्यालयमा कार्यरत महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल लगत्तै निलम्बित भएका थिए। यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए। कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका पालले आफ्नै प्रहरी कार्यालयमा कार्यरत बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए।

घटनाबारे ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन्। त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको थियो। ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भन्दै आदेश दिएका थिए।

त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। त्यसपछि क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। 

छानबिन समितिले पाल दोषी ठहर भई पाँच तह घटुवाको लागि सिफारिस गर्ने तयारी थालेको थाहा पाउने बित्तिकै पालले राजीनामा दिएको बुझिएको छ ।


Author

थप समाचार
x