बाँके राष्ट्रिय निकुञ्जमा टाइमकार्डको व्यवस्था लागू
फाइल फोटो
जानकी- पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जमा सोमबारदेखि ‘टाइमकार्ड’ लागू गरिएको छ ।
राजमार्गमा सवारी साधन दुर्घटनाका साथै सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने दर बढेपछि टाइमकार्ड लागू गरिएको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले बताए । “निकुञ्ज क्षेत्रभित्र सवारी साधन दुर्घटना हुनाका साथै सवारी साधनबाट वन्यजन्तुको सुरक्षा उच्च जोखिममा परेको हुनाले टाइमकार्डको व्यवस्था गरिएको हो”, उनले भने । निकुञ्जका सूचना अधिकारी भुसालले बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो पोइन्ट (खैरी चेक पोष्ट) सम्म टाइमकार्ड लागू गरिएको बताए ।
उनका अनुसार निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटर दूरीमा टाइमकार्डको व्यवस्था लागू गरिएको छ । सवारी साधनका चालकलाई उक्त दूरी पार गर्न २३ देखि २८ मिनेटको समय दिइएको छ । सूचना अधिकारी भुसालका अनुसार निकुञ्ज क्षेत्रमा सवारी साधन र वन्यजन्तु सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा रहेका स्थानीय, नागरिक समाज, व्यवसायीलगायत सम्बन्धित पक्षले टाइमकार्डको व्यवस्था लागू गर्न सुझाव दिएअनुसार नै टाइमकार्ड लागू गरिएको हो ।
निकुञ्ज क्षेत्रमा हुने सवारी साधन दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि ‘रिफ्लेक्टर ट्याङगल’ राख्ने, बिग्रेको सवारी साधन मर्मतका लागि एक घन्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारी साधनलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने तथा निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको छ ।
आजदेखि लागू हुने गरी गरिएको टाइमकार्डको व्यवस्थापनमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित पक्षधरहरुको उपस्थित रहेको थियो । विसं २०६७ मा बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्र समेटेर नेपालको दसौँ राष्ट्रिय निकुञ्जका रुपमा रहेको छ । उक्त निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया