समाज

हेटौंडा जेसीजकाे वक्तृत्व कलामा यमकला पौडेल प्रथम

इकागज |
असोज १५, २०८० सोमबार २०:३५ बजे

मकवानपुर- हेटौंडा जेसीजकाे वक्तृत्व कला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । हेटौंडा जेसीजकाे आयोजना भएकाे राष्ट्रियस्तरको वक्तृत्व कलामा पौडेल प्रथम हुँदै पुरस्कार स्वरूप नगद २५ हजार प्राप्त गरिन् ।

‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्थीहरूबीच आज फाइनल प्रतियोगिता भएको हो । फाइनल प्रतियोगितामा पौडेल प्रथम भइन् भने पोखराकी सुस्मा आचार्य द्वितीय र नवलपुरकै पुजा पराजुलीले तृतीय स्थान प्राप्त गरेकी थिइन् । द्वितीय र तृतीय हुने आचार्य र पराजुलीले क्रमशः नगद १५ हजार र १० हजार प्राप्त गरे ।


कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले विजयी तथा सहभागीहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । हेटौंडा जेसीजले सन् २०२० बाट बर्सेनि वक्‍तृत्व कला (पब्लिक स्पिकिङ) प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।

कार्यक्रममा प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दिपकराज मिश्रलाई सम्मान गरिएको थियो । वक्तृत्व कला (पब्लिक स्पिकिङ) प्रतियोगितामा सन् २०२० मा प्रिन्सि काफ्ले, २०२१ मा रिमा काफ्ले र सन् २०२२ मा गरिमा घिमिरे प्रथम भएका थिए ।


Author

थप समाचार
x