समाज

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

इकागज |
जेठ १४, २०७८ शुक्रवार २१:३ बजे

धनुषा : गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपछि मुद्दा दर्ता भएको छ ।  १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए । रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित किशोरीले जनाएकी छन् ।

पीडित किशोरीका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवान विरुद्ध उजुरी दर्ता गराएका छन् । जेठ १२ गते दिउँसो खेत गएकी किशोरीलाई ती युवाले सामूहिक बलात्कार प्रयास गरेको पीडितले बताइन् ।


घटना लगत्तै आरोपित तीनै जना युवा फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । प्रेस मञ्च प्रदेश २ का कार्यबाहक अध्यक्ष तथा स्थानीय बासिन्दा सुरेश यादवका अनुसार घटनापश्चात् पीडित परिवारलाई गाउँमै मिल्न स्थानीय केही नेताले दबाब दिँदै आएका थिए ।

'पीडित पक्षलाई स्थानीय केही नेताले मिल्न दबाब दिएर पञ्चायत बसाएको थाहा पाएपछि मैले नै प्रहरीलाई खबर गरेँ । जानकारी पाएलगत्तै पञ्चायतमै प्रहरीको टोली पुगेर हस्तक्षेप गरेको छ' उनले भने । अहिले घटनाको मुद्दा दर्ता भएको छ । फरार आरोपीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x