समाज

महिलाको हत्या अभियोगमा पर्साबाट तीनजना पक्राउ

इकागज |
असोज १६, २०८० मंगलबार १९:२५ बजे

पर्सा- पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीया कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अवस्थामा विनको शव फेला परेको थियो । उनको हत्या अभियोगमा स्थानीय तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन रहेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

पर्सा प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले घरमा सुरुङ बनाएर उनीहरू घरभित्र प्रवेश गरेका थिए । कान्तिदेवीले चोरी गर्न गएकाहरूलाई चिनेपछि रहस्य खुल्ने डरले सिरानीले मुख थुनेर घाँटी रेटेर रड प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

मृतकका देवर पहिलो चरणको अनुसन्धानमा असोज ७ मा पक्राउ परेपछि उनकै बयानको आधारमा थप दुई जना असोज १४ गते पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x