समाज

विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह

इकागज |
असोज २१, २०८० आइतबार २१:३९ बजे

चितवन- चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’ मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको जानकारी दिँदै विश्वविद्यालयले उनीहरूलाई स्थानान्तरण गर्न अनुरोध गरेको छ । 

विश्वविद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित इजरायली राजदूतावास एवं इजरायलस्थित नेपाली राजदूतावासँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । कृषि विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, रामपुरले आज विज्ञप्ति जारी गर्दै यहाँबाट सन् २०२२ र सन् २०२३ मा गएका सम्पूर्ण विद्यार्थीलाई हाललाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक सहयोगका सम्बन्धमा पहल  भइरहेको जनाएको छ । विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरक्षाका उपाय अपनाउन र सजग रहन उनीहरूलाई अनुरोध गरेको छ ।


कृषि कार्य अध्ययन कार्यक्रममार्फत यहाँबाट सन् २०२३ मा एक सय १३ र सन् २०२२ मा ६ विद्यार्थी भएका विश्वविद्यालयले  जनाएको छ । 'हालसम्म हामीलाई प्राप्त सूचनाअनुसार विश्वविद्यालयका सबै विद्यार्थी इजरायलमा सकुसल छन्,' विज्ञप्तिमा उल्लेख छ । इजरायलमा भएको आतङ्ककारी हमलाप्रति विश्वविद्यालयले खेद प्रकट गरेको छ । रासस


Author

थप समाचार
x