निःशुल्क रगत उपलब्ध गराउन महानगर र रेडक्रसबीच सम्झौता
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । महानगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको महानगरले जनाएकाे छ ।
सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले रगत प्राप्त गर्न कसैलाई फोन गराउनु पर्ने, सिफारिस गराउनु नपर्ने गरी काम बताइन् । ‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यस बेला कसैलाई सिफारिस गर्नु पर्ने स्थिति हुँदैन,’ उनले भनिन्, ‘महानगरवासीबाट थालिएको निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ ।’
जनस्वास्थ्य विभागका प्रमुख पौडेलका अनुसार, महानगरपालिकावासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २ सय रुपैयाँ उपलब्ध गराइनेछ ।
सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेस गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।
बागमती प्रदेशले महानगरपालिका भित्रका ५ वटा अस्पतालहरू (परोपकार स्त्री तथा प्रसूति अस्पताल, कान्ति बाल अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, बीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र) मा वागमती प्रदेशका विरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्वको खर्च व्यहाेर्न सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहाेर्नेछ ।
सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेस गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेस गरे हुनेछ । यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ । आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइने महानगरले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया