सञ्चो हस्पिटलमा डाक्टर कुटेकाे अभियाेगमा थप एक पक्राउ
मकवानपुर । प्रहरीले गत भदौ २७ गते हेटौँडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सकलाई आक्रमण गरेको अभियोग लागेका थप १ जनालाई पक्राउ गरेको छ ।
चिकित्सकमाथि आक्रमण गर्ने हेटौँडा–१२, सिक्रेनीका ३६ को सुवास स्याङ्तानलाई बुधबार दिउँसो हेटौँडा–१०, बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका स्याङ्तानलाई प्रहरीले बिहीबार जिल्ला अदालतमा हाजिर गराइने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
पक्राउ परेका ६ जना धरौटीमा रिहा
यसैगरी उपचार गरिरहेका चिकित्सकलाई सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले धरौटी माग गर्ने आदेश गरेको हो ।
चिकित्सकमाथि आक्रमण गर्ने रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, सुनिल पाख्रिन र जीवन लामालाई जनही २ लाख रुपैयाँ धरौटी माग गर्ने अधिकारीले आदेश गरेका छन् । अदातलले धरौटीमा रिहा गर्न सकिने आदेशसँगै ६ जना नै मंगलबार नै धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।
सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन विकास थापा र एनेस्थेसिया प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो । भदौ २७ गते डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै डाक्टरमाथि आक्रामक भएको हो। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसैबीच प्रहरीले अदातलबाट पक्राउ पुर्जी जारी गरेका १३ जनामध्ये ६ जना अझै फरार छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया