भत्ता बढेपछि ज्येष्ठ नागरिक खुसी, भन्छन्- 'सरकार हाम्रो सहारा'
धनगढी : शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुसीले नाँच्न थाले । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दंग भए । खुसीले नाँचिरहेका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाए । उनले भने,'आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो ।'
उनको कुरा सुनेर छोराबुहारी पनि खुसी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो । श्यामलालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ ।
श्यामलाल मात्रै हैन आर्थिक वर्ष २०७८/७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुसी भएका छन् । मासिक तीन हजारका दरले भत्ता बुझिरहनुभएका बृद्धबृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुसी भएका हुन् । सरकारले भत्ता बढाएको खबर छोराबाट थाहा पाएका कैलालीको गौरीगङ्गा नगरपालिकाका ७५ वर्षीय हरिबहादुर रोकाया निकै खुसी थिए ।
मासिक ३ हजार रुपैयाँ बुझ्दै आउनुभएका हरिबहादुर मासिक ४ हजारका दरले वृद्ध भत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त मेरो पनि भत्ता बढेकाले आफूलाई चाहिने समान आफैले किन्न पाउने भएँ भन्दै थिए । विसं. २०५२ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धभत्ता कार्यक्रम थालनी भएको थियो । बृद्धावस्था लागेदेखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया