समाज

बौद्धमा लुट्न आएकालाई गोली चलाएर प्रहरीले लियो नियन्त्रणमा

ताल्चा फोड्ने हतियार, पेस्तोल र सात राउण्ड गोली पनि बरामद

इकागज |
असोज २५, २०८० बिहीबार १४:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- बौद्धस्थित जगुडोलमा नेपाल प्रहरीले गोली चलाएर लुटेरा समूहका एक जनालाई नियन्त्रणमा लिएको छ । लुटेरा समूहका अमर घलानलाई घाइते बनाइ नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख शोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रहरीको गोलीबाट एक जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । उनका अनुसार ३४ वर्षीय घाइते अमर घलानलाई खुट्टामा गोली लागेको छ । थप दुई नियन्त्रणमा ३० वर्षीय जितेन्द्र लामा र २६ वर्षीय शान्त लामा रहेका छन् ।


'लुट्न आउँदैछन् भन्ने सूचनाका आधारमा हाम्रो टोली पुगेका थिए,' एसएसपी राठौरले भने । उनीहरूको साथबाट ताल्चा फोड्ने हतियारसमेत बरामद गरिएको उनले जानकारी दिए ।

घटनास्थलबाट एक पेस्तोलसहित सात राउण्ड गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । उनीहरू योजनाबद्ध लुट्न आएको हुन सक्ने उनले बताए ।


Author

थप समाचार
x