समाज

केयूकेएलमा कर्मचारी सरुवाको आधिकारिक ट्रेड युनियनद्वारा विरोध

इकागज |
असोज २५, २०८० बिहीबार १६:४६ बजे

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्तिको विज्ञापन हुनुपूर्व निमित्त प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले रातारात कर्मचारीहरूको सरुवा गरेकोमा त्यहाँको आधिकारिक कर्मचारी ट्रेड युनियनले विरोध गरेको छ ।

‘खुला प्रतिस्पर्धाबाट कम्पनीको कार्यकारी प्रमुख नियुक्तिको सूचना प्रकाशित हुनुभन्दा केही घण्टा अगाडि मात्र हठात रूपमा स्वेच्छाचारी, विभेदपूर्ण, मनोमानी र पूर्वाग्राही ढंगले दरबन्दी तथा सरुवा नीतिविपरीत कम्पनीको दैनिक कार्य समेत प्रभावित हुने गरी ठूलो संख्यामा गरिएको सरुवाप्रति आधिकारिक ट्रेड युनियनको ध्यानाकर्षण भएको छ,’ ट्रेड युनियनले जारी गरेको विज्ञप्तिमा छ । 


ट्रेड युनियनले कम्पनीको साखमा ह्रास आउने तथा असर पर्ने गरी गरिएको सरुवाप्रति आफ्नो असहमति जनाएको छ । कम्पनीलाई असर गर्ने कर्मचारीको सरुवा, बढुवा तथा नियुक्तिका विषयहरू खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि सर्तसहित नियुक्त भई बहाल हुने कार्यकारीको अधिकार रहेको उसले जनाएको छ ।

कम्पनीको घोषित लक्ष्य र उद्देश्य हासिल गर्न सञ्चालक समिति र कार्यकारी अधिकृतबीच हुने कार्य सम्पादन सम्झौताबमोजिम विभागीय प्रमुख, महाशाखा प्रमुख, शाखा प्रमुख, लेखा र प्रशासन फाँट प्रमुख लगायत कर्मचारीको कार्य विवरण तोक्ने, जिम्मेवारी हेरफेर गर्ने, काज खटाउने/फिर्ता गर्ने विशेषाधिकार नयाँ नियुक्ति भई आउने कार्यकारीको रहेको ट्रेड युनियनले विज्ञप्तिमा स्मरण गराएको छ ।

‘यसको हेक्का नराखी गरिएको स्वेच्छाचारी र मनोमानी सरुवा सच्याउन आधिकारिक ट्रेड युनियन जोडदार माग गर्दछ,’ विज्ञप्तिमा छ, ‘रातारात गरिएको सरुवा पूर्ण रूपमा पूर्वाग्राही रहेको, एउटै नीतिले केही कर्मचारीको सरुवा गरिएको, केहीलाई नगरिएको, कसैलाई अपायक हुने गरी सरुवा गरिएको, अनिवार्य अवकाश हुनुभन्दा कम सेवा अवधि बाँकी भएकोलाई समेत सरुवा गरिएकाले तत्काल सच्याउन जोडदार माग गर्दर्छाैं ।’

 


 


Author

थप समाचार
x