समाज

सोह्रश्राद्धको आज अन्तिम दिन, पितृ पक्ष समापन गरिँदै

इकागज |
असोज २७, २०८० शनिबार १४:३७ बजे

काठमाडौँ- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष सोह्रश्राद्ध दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शनिबार समापन हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गर्न लागिएको हो ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ । पितृ पक्षको अन्तिम दिन आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए यस दिन गर्नुपर्छ भन्ने शास्त्रीय मत छ ।


चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ ।


Author

थप समाचार
x