शक्तिका ३ हजारले निःशुल्क खानेपानीको उपभोग गर्न पाउने
मकवानपुर- हेटौंडा उपमहानगरपालिकाले खानेपानीको उपभोग गर्ने नगरवासीका लागि दिएको सुविधाबाट हेटौंडा–१६ शक्तिका बासिन्दा लाभान्वित भएका छन् । १७ वर्षअघि गठन भएको शक्ति खानेपानी तथा सरसफाइ उपभोक्ता समिति खानेपानी बाेर्डमा हस्तान्तरण भएसँगै हटौंडा १६ शक्तिका ३ हजारले निःशुल्क खानेपानी उपभाेग गर्न पाउने भएका छन् ।
यसअघि उपभाेक्ता समितिबाट वितरण भएको पानीको उपभोग गरेवापत न्यूनतम १ सय रुपैयाँ तिर्दै आएका ३ हजार लाभग्राहीले निःशुल्क खानेपानीको उपभोग गर्न पाउने छन् । शनिबार शक्तिखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति हेटौंडा खानेपानी बोर्डमा हस्तान्तरण भएसँगै स्थानीय लाभान्वित भएका हुन् । उपमहानगरले दिँदै आएको खानेपानीको सुविधाबाट लाभान्वित हुने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
उपभोक्ता समितिबाट प्रयोग भएको पानी उपभोग गरेवापत न्यूनतम दश हजार लिटर बराबर एक सय रुपैयाँ तिर्ने गरेका उपभोक्ता उपमहानगरले दिएको सुविधाबाट लाभान्वित हुने भएको समितिका सचिव प्रेमप्रसाद पनेरुले बताए । शक्तिमा रहेका ६ सय ५७ घरधुरीले ५ सय ५७ धाराबाट खानेपानीको उपभोग गर्दै आएका छन् ।
समिति बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले नगरवासी समक्ष गरेको बाचा पूरा गर्दै गएको भन्दै खानेपानी र स्वास्थ्य बिमासँगै अब विद्युतमा दिने छुटलाई कार्यान्वयनको चरणमा रहेको बताइन् ।
‘बोर्डले शक्ति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लिएसँगै खानेपानीको मुहानलाई सदुपयोग गर्दै नगरको पूर्वी क्षेत्रका बासिन्दालाई शुद्ध खानेपानी दिने कार्यमा थप व्यवस्थापन गरिँदै लगिने छ,’ अध्यक्ष प्रताप बिष्ट भने, ‘शक्तिमा रहेको खानेपानीको स्रोतको प्रयोग गर्दै हेटौंडा–१८ फुर्केचौरदेखि कमानेसम्मका उपभोक्तालाई पानी खुवाउने लक्ष्य छ ।’
बोर्डले उपमहानगर क्षेत्रमा मंहगो शुल्क तिरेर खानेपानीको उपभोग गरेका नगरवासीलाई न्यून शुल्कमा खानेपानी वितरण गर्न १५ उपभोक्ता समिति बोर्डमा लिई सकेको छ । उपमहानगर क्षेत्रमा खानेपानीको श्रोत व्यवस्थापन गर्दै खानेपानी बोर्डले चालु आर्थिक वर्ष २०८०/०८१ सम्ममा २६ हजार धारबाट पानी उपभोक्ता माझ खानेपानी पुर्याउँदै आएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया