समाज

तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरूलाई अध्यक्ष पोख्रेलकाे आग्रह

इकागज |
असोज २८, २०८० आइतबार १७:१० बजे

बुटवल- नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरूलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले दसैँ, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धीकरणको विषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन् । शुद्धीकरणको विषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेको तर्फ संकेत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गरे ।


‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धीकरण गरिएको हो, विजयादशमीको शुभकामना दिँदै म बुटवलबाट भन्छु, तालाबन्दी निषेधले पत्रकार महासंघको ओझ घट्ने हो,’ अध्यक्ष पोखरेलले भने, ‘संवाद गरौँ, सहकार्य गरौँ, विधान र शुद्धीकरण अनुसार नयाँ कोर्समा अगाडि बढौँ ।’

उनले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाकिताबमा मात्रै सीमित नहुन आग्रह गरे । ‘एउटा संख्या बढी र तल हुँदामा चुनाव जित्ने र हार्ने अवस्थाको अन्त्य गर्नुपर्छ, शुद्धीकरणले गर्न खोजेको त्यही हो । र, माथि हुँदैमा चुनाव जित्ने र हार्ने अवस्था हुँदैन,’ उनले भने । उनले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताए ।

विगतमा निषेध गरिए पनि अब त्यसो हुन दिन नहुने उनको भनाइ छ । कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धीकरण गरिएको उनले बताए ।

उनले पछिल्लो समय सरकार सरकारजस्तो नहुने, संसद संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकार महासंघले आफैँबाट शुद्धीकरण थालेको जिकिर गरे । ‘शुद्धीकरण मार्फत सुधारको प्रयत्न गरिएको हो,’ अध्यक्ष पोख्रेलले भने ।

अध्यक्ष पोखरेलले पत्रकारितामा बुटवल नै राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गरे । उनले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रुपमा परिचित गराउने गरी नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए। ‘अरुको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताको राजधानी बुटवल नै हो,’ उनले भने ।

उनले दसैँ, तिहार, छठ र नेपाल सम्बत जस्ता पर्वहरूले सञ्चार क्षेत्रको विज्ञापन बजारको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरूमा तडकभडक र विकृतिहरू देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताए । उनले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको तर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरूले सबैलाई एकतामा जोड्नुपर्ने बताए । उनले महासंघले रुपन्देहीका सबै सरोकारवालाहरूलाई एकै ठाउँमा राखेर शुभकामना आदान प्रदान गरेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र र प्रदेशका नेतृत्व, रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार, राजनीतिक पार्टीका नेतृत्व, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरूको उपस्थिति रहेको सचिव विनोद परियारले जानकारी दिए ।


Author

थप समाचार
x