१८ दिनकाे बच्चा बाेकेर जहाजकाे टिकट पाउन धाइरहेकी सुत्केरी (फाेटाे/भिडियाे)
टिकट सर्वसाधारणको पहुँचभन्दा बाहिर, कि त ठूला नेतालाई भन्नुपर्छ कि विचौलियालाई
काठमाडौं– सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वी रुकुमकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहेकी छिन् । नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आएकी थिइन् । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहेकी छन् ।
उनी भन्छिन्, “फ्लाईट पनि गाह्रो छ । पाइँदैन। उतै अपरेसन भएपनि ब्लड पाइँदैन ।आईसियु छैन। सेवा सुविधा केही पनि छैन। सके पनि नसकेपनि यही(नेपालगञ्ज) आउनैपर्ने बाध्यता छ । अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन ।’
पूर्वीरुकुम पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर ८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगञ्ज आइन् । जुम्ल्याहा नानीहरुकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुंगो छैन । एक महिना भईसक्यो नेपालगञ्ज होटलमा बसेको अझै कतिदिन बस्नुपर्ने हो भन्ने पिरलो उनमा पनि देखिन्छ ।
निशाले भनिन् ‘म डेलिभरीको लागि यहाँसम्म आएको हो । पुर्वी रुकुमदेखि पश्चिम पठाईदियो । दुईवटा बच्चा छ नेपालगञ्ज जानुपर्छ भनेका कारणले यहाँ सम्म आएको । यहाँ आएपछि । अप्रेसन भयो । ४ दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्यौ । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ ।’
सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ ।
मौसमको प्रतिकुलता र एयरलाईन्सहरुको सिमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो । नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधारणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई । सामान्य ढंगले आफँै टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।
कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउँछन् । कसैलाई भनसुन नगरि हवाई उडानको टिकट पाउन नसकिने अनुभव उनँको छ । शाही भन्छन् ‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन । नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राईभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाईदैन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउला ?’
विदेशी टोली आउँदा दिनमा ५ वटासम्म चार्टर गर्ने निजी एयरलाईन्सहरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरु बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरु हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् ।
नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरि स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ । निगमको जहाजको उडान धेरै जसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शंका पनि स्थानीयको छ । निजी एयरलाईन्सहरुले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधरण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया