गृहमन्त्री श्रेष्ठले भने : मुलुकको समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्छ
काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्ने बताएका छन् ।
६८औं प्रहरी दिवसको अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले मात्र समग्र मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताएका हुन् ।
सो अवसरमा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरूलाई कदरपत्र प्रदान गरेका थिए ।
उनले प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरे ।
समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्व लगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरूको समर्पण भाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गरे ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकमैत्री प्रहरीका रूपमा सांगठनिक छवि उजागरमा केन्द्रित रहन नेपाल प्रहरीका सकल
दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल सरकारको कार्य प्राथमिकतामा अटल र अविचलित रहन निर्देशन दिए । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारबाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता उनले व्यक्त गरे ।
कुँवरले प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्यसहित 'नेपाल प्रहरी कार्ययोजना,२०८०' तर्जुमा गरी लक्षित वर्ग केन्द्रित कल्याणकारी योजना विकास गर्ने बताए । प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल वृद्धि हुने क्रियाकलाप सञ्चालन गर्ने, नव प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका उच्च प्राथमिकतायुक्त कार्यक्रमहरू कार्यान्वयनका लागि कार्ययोजना अगाडि बढाइएको र उक्त लक्ष्य पूरा गर्न तालुक मन्त्रालय र अन्य सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया