बागलुङका सहकारी पीडितलाई दसैँले छोएन
सहकारीले साढे दुई अर्ब रकम उठाएर फरार भएपछि बचतकर्ताको बिचल्ली
फाइल तस्बिर
गलकोट (बागलुङ)- दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरूलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु साढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचतकर्ताको बिचल्ली भएको हो ।
इमेज सहकारीले रु डेढ अर्ब बचत उठाएर फरार भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीविरुद्ध बचत पीडित राँके जुलुस तथा प्लेकार्डसहित सडकमा धर्ना बसिरहेका छन् । वडादसैँ सुरु भइसके पनि पीडितलाई दसैँले छुन नसकेको बचत पीडितहरूले बताएका छन् । उनीहरू दसैँ लागिसक्दा पनि सडकमै आन्दोलन गरिरहेका छन् ।
इमेज सहकारी बचतकर्ता सङ्घर्ष समितिले सहकारीका अध्यक्ष एवं नगर प्रमुख देवकुमार नेपालीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै मङ्गलबार बागलुङ बजारमा सिठ्ठी जुलुस निकालेको थियो ।
सहकारीले पोखरा र बागलुङमा गरी बचतकर्ताको करिब रु दुई अर्ब फिर्ता नगरेकाले उक्त रकम फिर्ताको माग गर्दै आन्दोलन थालिएको सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए । गत जेठ ५ गतेदेखि फरार रहेका नेपालीलाई यथाशीघ्र पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राख्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको उनले बताए ।
'दुःखजिलो गरेर बचत गरेको रकम चाडवाडको समयमा फिर्ता नपाउँदा बचत पीडितलाई कस्तो भएको छ? हामीलाई चाडवाडको भन्दा बचतको पिरलो छ,' कार्कीले भने, 'छ महिनादेखि चुनौती दिएर फरार भएका नेपालीलाई राज्यले कानुनी दायरामा ल्याउन नसक्नु दुःखद् हो ।' सबैलाई दसैँ लागे पनि बचतकर्तालाई दशा लागेको बताउँदै नेपाली कानुनी दायरामा नआउँदासम्म आन्दोलन जारी रहने उहाँको भनाइ थियो ।
रु डेढ अर्ब रकम हिनामिनापछि भागेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटनका नगरप्रमुख देवकुमार नेपाली छ महिनादेखि बेपत्ता छन् ।
नेपालीको खोजीमा राज्यले पहल नगरेको भन्दै पीडितले राज्यको ध्यानाकर्षण गराउन निरन्तर सडक आन्दोलन गरिरहेका छन् । एक हजार सात सयको बचत उठाएर नेपाली फरार भएपछि बचतकर्तालाई दसैँले छुन नसकेको पीडित यामप्रसाद शर्माले बताए । 'राज्यले पीडितको कुरा सुनेन । फरार रहेका नेपालीलाई पक्राउ गरेर ल्याउन माग गर्दर्छौँ,' उनले भने, 'चाडवाडको सयमा हामी जस्ता बचतकर्ता सडकमा आउनु परेको छ । हामी जस्ताले राखेको रकमले घर गाडी किनेर मोजमस्ती गर्नेलाई कारबाही गर्न आवश्यक छ ।'
गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म नखुलेको शर्माले जानकारी दिए । उनका अनुसार सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द भएको छ ।
उनीविरुद्ध प्रशासनले डेढ महिनाअघि नै गृह मन्त्रालयमा ‘रेडकर्नर नोटिस’ जारी गरिदिन सिफारिससमेत गरेको थियो । रेडकर्नर जारी हुँदा अन्तर्राष्ट्रिय तहमा पनि अभियुक्तको खोजी गर्न सकिने प्रावधान भए पनि अहिलेसम्म रेडकर्नर नोटिस जारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । नेपालीको खोजी कार्य भइरहे पनि अहिलेसम्म उहाँलाई पक्राउ गर्न नसकिएको उनले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया