समाज

दुई किलो चिनी किन्न धादिङदेखि काठमाडौंमा

इकागज |
कात्तिक २, २०८० बिहीबार १६:५३ बजे

काठमाडौँ - बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन् । 

नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् ।  दशैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताए । उनले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण  भएको भन्दै आक्रोश व्यक्त गरे । उनले चिनीलगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता सयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाए । भट्टराईले धादिङका खाद्यन्न पसलहरुमा चिनी नपाएको पाएपनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आउनु परेको बताए । त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाइनमा बसेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेका बताइन् । उनले नेपालीको मुख्य चाड दशैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दुःख दिएको बताइन् । उनले सरकारले सञ्चालन गरेको सहुलियत पसल भन्दा बाहिरका पसलहरुमा चिनी नपाएको भन्दै २ किलो भएपनि लाइन बसेर लिन आएको बताइन् ।  उहाँले सरकार जनताप्रति उत्तरदायी नहुँदा हेरक वर्ष ग्यास,चिनी,नुन लगायत अन्य खाद्यन्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताइन् ।  त्यस्तै, कीर्तिपुरबाट चिनी किन्नको लागि सहुलियत पसल आएकी पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ । उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताइन् । उनले २ किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताइन् । उनले सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएको भन्दै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको उल्लेख गरिन् । 


यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताए । उनले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्ताहरुलाई खाली हात पठाउने बताए । उनले लाइनमा बस्ने उपभोक्ताहरुले अनिवार्य २ केजी चिनी पाउने बताए । उनले चिनी अभावको कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताहरुको भीड रहेको बताए । उनले चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरेपनि सरकारले तत्कालिन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताए । सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्न पर्ने अवस्था आउने थिएन उनले भने । उनले सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिएपनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण समस्या भएको बताए । उनले चिनी खरिद प्रक्रिया अगाडि बढाएपनि चाडपर्वमा ल्याउन नसकिएको बताए । उनले सरकारले आन्तरिक बजारबाट तत्कालको ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध गएर ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौंका ८ वटै आउटलेटबाट बिक्री गरिरहेको बताए । उनले विगतका वर्षहरुको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरुको व्यापार कमी आएको बताए । उनले मानिसहरुसँग आर्थिक अभावको कारण बजारमा व्यापार घटेको देखिएको बताए । 

उनले भने, ‘विगतका वर्षहरुको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरुको व्यापार कमी आएको छ । कोभिडको समयमा समेत धेरै असर भएको थिएन । तर अहिले व्यापार घटेको देखिएको छ । मानिसहरुसँग आर्थिक अभावको कारण बजारमा व्यापार घटेको देखिन्छ । पसलहरुमा उपभोक्ताको बढी चिनीमा आकर्षण भएकाले भीड बढेको छ । चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नै हामीले नेपाल सरकारसँग आग्रह गरेका थियौं । असोज कात्तिकसम्ममा चिनी अभाव हुन्छ भनेर लेखेर नै दिएका थियौं । आयात गर्न स्वीकृत पाउ भनेका थियौं । सरकारले तत्कालिन अवस्थामा स्वीकृत भएन । मन्त्रीपरिषद्ले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिने भनेर आयो । हामीले त्यसलाई अगाडि बढाएका छौं । चिनी खरिद प्रक्रिया अगाडि बढाएता पनि चाडपर्व नजिक आएकाले भारतमा चिनी निर्यातमा प्रतिबन्ध लगाएकाले प्राविधिक समस्या भएको छ । सरकारले आन्तरिक बजारबाट तत्कालको लागि चिनी व्यवस्था गरेका छौं । केही दिन अघि सरकारले ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध भएको छ । उक्त चिनीलाई ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौंका ८ वटै आउटलेटबाट बिक्री गरिरहेका छौं । लाइनमा लाग्नेहरुलाई २ केजी चिनी हामी दिन्छौं ।’

उनले दशैँ, तिहार र छठमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ लिमिटेडले सरकारसँग समन्वय गरेपनि सरकारको निर्णयमा ढिलाइ हुँदा समस्या भएको बताए । आन्तरिक रूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । चाडपर्वमा जनताले २ किलो चिनी पाउन समेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनको कारण भएको हो । हरेक वर्ष चाडपर्वमा नागरिकहरुले मूल्य वृद्धि र सामान अभाव झेल्नुपर्ने समस्या समाधानको लागि सरकारले समयमा नै सोच्नुपर्ने अवस्था आएको छ । 

 


Author

थप समाचार
x