समाज

पुनर्निर्माण भएपछि पुरानो आकारमा फर्कियाे ऐतिहासिक उदयपुरगढी

इकागज |
कात्तिक ५, २०८० आइतबार २०:७ बजे

उदयपुर- उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्त्विक महत्व बोकेको उदयपुरगढीको पुनर्निर्माण तथा स्तराेन्नति भए संगै उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम गाईघाटबाट करिब ३८ किलोमिटर पश्चिममा समुद्र सतहदेखि झण्डै १ हजार १६० मिटरको उचाइमा १५ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक उदयपुरगढीको पुनर्निर्माण भएपछि गढीले पुरानो आकार लिएको छ ।

तत्कालीन पञ्चावती गा.बि.स.मा पर्ने उदयपुरगढी दरबार हाल उदयपुरगढी गाउँपालिकामा पर्दछ ।  करिब तीन करोड ५० लाख रुपैयाँ खर्चेर पुनर्निर्माण गरिएको सो पुरानो गढी दरबार आइतबार नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले संयुक्त रूपमा एक समारोहका बीच उद्घाटन गरेका हुन् ।


कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा, नेपाली सेनाको ब्याण्डबाजासहितको उच्च अधिकृतहरूको टोली, जनप्रतिनिधिहरू, राजनीतिक दलका कार्यकर्ता तथा महिला दिदीबहिनीहरूको भव्य रूपमा सहभागिता रहेको थियो ।

पुरानो गढीको वरिपरि एक सय ३० मिटर गोलो बंकर, बंकरको बीचमा पाँचसय मिटर व्याससहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको छ ।

गढीको वरिपरि बाहिरपटि छ फिट र भित्रपटि १४ फिट उचाइको गारो लगाएर बंकर पुनर्निर्माण गरिएको छ । प्राचीन गढी झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरिएको छ ।  


Author

थप समाचार
x