समाज

पर्यटन व्यवसायी भन्छन् : पर्यटन क्षेत्रको बजेट राम्रो तर, कार्यान्वयनमै चुनौती

अतिन आचार्य |
जेठ १६, २०७८ आइतबार २०:१ बजे

काठमाडौँ : सरकारले २०७८/०७९ का लागि बजेट प्रस्तुत गरिसकेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रका लागि २७ अर्ब ४७ करोड बजेट विनियोजन गरेका छन् । 

नेपालको कृषिपछि सबैभन्दा ठूलो उद्योगको रुपमा पर्यटन क्षेत्रलाई लिने गरिएको छ । रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनका दृष्टिले यो महत्वपूर्ण क्षेत्र हो तर वर्ष दिनभन्दा लामो अवधिदेखि कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र शिथिल बनेको छ । विगत वर्षको भन्दा यसपटक सबैभन्दा राम्रो बजेट आए पनि कार्यान्वयन पक्षमा जटिलता रहेको छ ।


पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीलाई २५ लाख रुपैयाँ ऋण र श्रमिकलाई १५ देखि २० लाख रुपैयाँ दिनलाई व्यवसायीले माग गरेका छन् । पर्यटन क्षेत्रमा लागेका श्रमिकको पक्षमा बजेटमा समावेश हुन सकेको छैन । कोभिड सुरु भएदेखि सबैभन्दा बढी थलिएको यो क्षेत्रलाई उठाउनका लागि तत्कालै राहत उपलब्ध गराउनुपर्छ ।पर्यटन क्षेत्रका व्यवसायीलाई तत्काल राहतका लागि कार्यक्रम नल्याएकोमा पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

गत वर्षको जस्तै बजेटले निराश नबना‌‍ओस्

पर्यटकका लागि एक महिनाको भिसा निःशुल्क र कर छुट गर्ने राम्रो भए पनि कार्यान्वयन पक्षमा चुनौती रहेको ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले जनाएका छन् । बजेट राम्रो आए पनि व्यवसायीले राहत पाउन सक्नुपर्ने वातावरण बने मात्र बजेट सफल भएको मान्न सकिने उनको तर्क छ ।

'श्रमिक र व्यवसायको जीवन उकास्नका लागि यो बजेटले सहयोग गर्नुपर्छ,' सुवेदीले भने, ' व्यवसायीलाई न्युनतम २५ लाख रुपैयाँ दिनुपर्छ । यस क्षेत्रमा काम गर्ने मजदुरलाई पहिलो प्राथमिकतामा राख्‍नुपर्छ । बजेटले श्रमिकको पक्षलाई कही पनि समेटेको छैन ।' कार्यान्वयन भएमा मात्र बजेटको स्वागत गरिने उनले बताए । गत वर्षको बजेट आउदा व्यवसायी उत्साहित बने तर कार्यान्वयन नहुँदा निराश बनेको उनले जानकारी दिए । सरकारले श्रमिकका लागि सकरात्मक रुपमा लिए केही राहत कार्यक्रम ल्याउन सक्ने उनको दाबी छ। 

नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्नलाई पूर्ण रुपमा कोभिड सकिएको हुनुपर्छ । कोभिडको रेड जोनबाट नेपाल हटेमा मात्र विदेशी पर्यटक आउने उनको भनाइ छ । सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन सकेमा मात्र पनि सहज हुने उनले बताए । बजेट व्यवसायीसम्म पुग्‍न सकेन भने निबन्ध  पढेजस्तो  हुने उनको भनाइ छ ।

'होटलले उत्पादनमुलक उद्योगको अनुमति पायो'

पर्यटन क्षेत्रमा संकटकाल लागेको बेला केही कुराहरू पर्यटन व्यवसायीलाई राहत दिने खालको रहेको होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । सरकारले होटललाई उत्पादनमुलक उद्योगको रुपमा समावेश गरेकाले राम्रो पक्ष रहेको उनको भनाइ छ । होटललाई आइसोलेसनका रुपमा सञ्चालन गर्न पाउने व्यवस्था गरेकाले केही राहत हुने उनको भनाइ छ ।

'समग्रमा बजेट घोषणा भएको राम्रो छ । विगतको अभ्यास कार्यान्वयन पक्षमा एकदमै फितलो छन,' शाह भन्छन,' बजेट कार्यान्वय भए नभएको त्यसको अनुगमन र लेखाजोखा राख्‍नुपर्छ । मासिक रुपमा कार्यान्वयन भएको नभएको त्यसको प्रतिवेदन सार्वजनिक हुनुपर्छ ।'

काम चलाउ सरकारले ल्याएको बजेटको भर नहुने शाहको  तर्क छ । उनले बजेटलाई कार्यान्वयनमा ल्याउनका लागि नयाँ-नयाँ पर्यटक गन्तव्य खोज्न सुझाव दिए । कार्यान्वयन गर्नका लागि राजनीतिक नेतृत्वले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटकलाई एक महिनासम्म भिसा निशुल्क स्वागतयोग्य

प्याकेजमा ल्याएको बजेट समग्रमा राम्रो भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा बताउँछन् । राजश्‍वमा छुट गर्ने निर्णय र पर्यटकलाई एक महिनासम्मको भिसा निशुल्क गरिने निर्णय स्वागतयोग्य रहेको उनले बताए ।

'विगतका सरकारभन्दा यसपटकको सरकारले ल्याएको बजेट एकदम राम्रो छ,' उनी भन्छन,' पर्यटन क्षेत्रमा काम गर्नेलाई राहत मिलेको छ । राम्रो बजेट आए पनि कोभिड नियन्त्रण पहिलो प्राथकमिकता हुनुपर्छ ।'

लामाले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकलाई भने यो बजेटले नसमेटेकोमा गुनासो गरे । श्रमिकहरू पर्यटन क्षेत्रको श्रमिक खम्बा रहेको उनले संकेत गरे । श्रमिकलाई प्याकेज ल्याएर सम्बोधन गर्न उनले माग गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x