समाज

बाँकेमा सुरक्षा व्यवस्था कडा

इकागज |
कात्तिक ८, २०८० बुधबार १५:२५ बजे

फाइल तस्बिर

बाँके- दुर्गा भवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । 

उनले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको बताए । ती स्थानमा १२ घण्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ । सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ । 


भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक काम बाहेक आज एक दिनका लागि आउन कडाइ गरिएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ । नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिने व्यवस्था गरिएको छ । दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए । 

सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ । अहिले मूर्ति विसर्जन गरी यहाँको राप्ती नदीतर्फ सेलाउनका लागि लगिएको छ ।


Author

थप समाचार
x