समाज

प्रकाश घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख

इकागज |
कात्तिक १०, २०८० शुक्रबार २०:३४ बजे

पोखरा- घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको स्वास्थ्यमा केही सुधार भएको, बोलाउँदा सुनेको प्रतिक्रिया दिने अवस्थामा छन् ।

उनको हाल आइसियूमा राखेर उपचार भइरहेको छ । घिमिरेका छोरी र ज्वाइँसमेत चिकित्सक रहेकाले अस्पताल एवं उपचारमा सलग्न विशेषज्ञ चिकित्सकसँग निरन्तर सम्पर्कमा रहेको मनिपाल मेडिकल कलेजका मेसु डा. अभिषेक मास्केले बताए । शुक्रबार बिहान पोखरा ३ नदीपुरको भिरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् ।


नदीपुरस्थित भीरमा घाँस काट्ने क्रममा समाएको स्थानबाट फुत्किएर लड्दा अचेत अवस्थामा पुगेको स्थानीय प्रेम शेरचनले जानकारी दिए । ‘बिहान मर्निङ वाल्क सकेर ९ बजेतिर मेरो घर नजिकै गाईलाई घाँस काट्न जानु भएको थियो । भीरमा उहाँ समाएको पर्खालको ढुंगासहित करिब एक सय २०/२५ फिट तल बजारिनु भएको हो,’ उनले भने, ‘पछिल्लो समय बुझ्दा भित्री चोट धेरै लागेको भन्ने बुझिएको छ । बिहानभन्दा धेरै सुधार भएको छ ।’

उनलाई थप उपचारका लागि शुक्रबार नै काठमाडाैँ लैजाने तयारी गरिए पनि प्रेसरलगायतका कारणले नसकिएको स्थानीय शेरचनले बताए । ‘उहाँलाई शुक्रबार नै काठमाडौं लैजाने भन्दाभन्दै पनि उहाँको प्रेसर, ब्लिडिङ लगायत कारणले एक दिन होल्ड गर्ने कि भनेर मनिपालमा नै राखिएको छ,’ उनले भने । 

असजिलो भीरमा दुर्घटना भएकाले उद्धारमा केही समय लागेको अर्का स्थानीय धनकाजी श्रेष्ठले जानकारी दिए । ‘भीरको बाटो साह्रै गाह्रो थियो । हामीलाई उद्धार गर्नै आधा घन्टा भन्दा बढी समय लाग्यो,’ उनले भने, ‘हामीले देख्दा अचेत अवस्थामा टाउको र ढाँडमा चोट देखिएको थियो ।’

पोखरा ३ नदीपुरका स्थानीय बासिन्दा घिमिरे कला क्षेत्रमा सक्रिय छन् । त्योभन्दा अघि उनी शिक्षण पेसामा आबद्ध थिए । लामो समय कन्या माध्यमिक विद्यालय नदीपुर पोखरामा सेवा गरी शिक्षण पेसाबाट २०७५ मा अवकाश लिएका थिए ।

पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष र सल्लाहकारको भूमिका निभाउँदै आएका कलाकार घिमिरे पोखरा प्रतिविम्ब नाट्य समूहमा आबद्ध छन् । उनले लगभग ३७ वटा नाटकमा अभिनय गरिसकेका छन् । 

उनले निर्देशक नवीन सुब्बाद्वारा निर्देशित नेपाल टेलिभिजनमा प्रसारित नेपाली टेलिसिरियल ‘दलन’ मा अभिनय पनि गरे । उनले टलकजंग भर्सेस टुल्के, छ माया छपक्कै, साइँली, फन्को, जात्रा, जात्रैजात्रा, पशुपतिप्रसाद, पञ्चेबाजा, घामपानी र पानीफोटो लगायत चलचित्रमा अभिनय गरेका छन् । उनी अभिनित चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले फिल्म हलमा प्रदर्शन भइरहेको छ । 


Author

थप समाचार
x