समाज

नागरिक समाजले भन्याे : महासचिव गुटेरेसले पीडित पक्षसँग भेट गर्न चाहेनन्

इकागज |
कात्तिक १२, २०८० आइतबार १८:४४ बजे

काठमाडौँ- नागरिक समाजले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनबारे सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्ने माग राखेका छन् ।

आइतबार उनीहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन पीडित पक्षको आवाज नसुन्ने हो भने एकपक्षीय हुने बताए । उनीहरूले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ भूमिका महत्वपूर्ण रहेको भन्दै महासचिवको भ्रमणको समयमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने एजेण्डा भइरहँदा पीडित पक्षसँग पनि वार्ता गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।


न्युज एजेन्सी नेपालसँगको कुराकानीमा द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले महासचिव गुटेरेसले नेपाल भ्रमणमा रहँदा शान्ति प्रक्रियालाई मुख्य प्राथमिकतामा राख्नुभएको तर पीडित पक्षसँग भेट्न र उनीहरूका आवाज सुन्न बेवास्ता गरेको आरोप लगाए । उनले आफूहरूले बारम्बार पत्र पठाएर पनि शान्ति प्रक्रियाका बारेमा सरकार पक्षको मात्रै आवाज सुन्दा एकपक्षीय हुने र पीडित पक्षको आवाज सुन्न आग्रह गरेको भए पनि सरोकारवाला पक्ष द्वन्द्वपीडित र नागरिक समाजलाई भेट्न चासो नदिएको पाएको बताए ।

उनले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा पटकपटक प्रतिबद्धता जनाउने र लागू गर्ने कुरामा बेवास्ता गरिरहेको आरोप लगाए । उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धताहरु गलत रहेको बताए । उनले द्वन्द्व पीडितलाई नै नभेटि शान्ति प्रक्रिया टुंग्याउँदा परिपक्व नहुने बताए ।

अधिकारीलेले महासचिवको भ्रमणबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिनुपर्ने र सरकारलाई सर्वोच्च अदालतको फैसलाका अनुसार काम गराउन राष्ट्रसंघले दबाब दिनुपर्ने बताए । शान्ति प्रक्रियाका बाँकी काम पटकपटक बल्झाउने सरकार र राजनीतिक दलहरूको चरित्र बन्द गर्नुपर्ने बताए ।


Author

थप समाचार
x