समाज

महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरमा परिणत गर्नुपर्छ : जलवायु विज्ञ उप्रेती

इकागज |
कात्तिक १३, २०८० सोमबार १९:४१ बजे

काठमाडौँ- विज्ञहरूले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सुनौलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले हिमाली र पर्वतीय क्षेत्रमा रहेका १३६ वटा राष्ट्रलाई जलवायु परिवर्तनको जोखिमबाट बचाउन राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् ।​ गुटेरेसको भ्रमणलाई अवसरका रूपमा लिई नेपाल र नेपालजस्तै जलवायु परिवर्तनको जोखिममा रहेका अन्य देशहरूको हितमा परिणत गर्न पनि नेपाल सरकारलाई सुझाव दिए ।


न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले जलवायु विज्ञ उप्रेतीले महासचिव गुटेरेसले नेपालको भ्रमण गर्नुलाई नेपालमा जलवायु परिवर्तनको असर छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षति बापत ५० बिलियन अमेरिकी डलर बराबरको बजेट दिनुपर्ने बताए । भ्रमणले संयुक्त राष्ट्र संघमा बुझाएको योजनालाई प्राथमिकताका साथ अघि बढाउन संयुक्त राष्ट्र संघलाई बल पुर्याएको पनि उनकाे भनाइ छ ।

त्यसैगरी इजिप्टमा गत वर्ष सम्पन्न संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा हानी नोक्सानीसम्बन्धी कोष परिचालन गर्न भएको सहमति प्रभावकारी ढंगले परिचालन गर्न पनि महासचिव गुटेरेसको नेपाल भ्रमण उपयोगी हुने उनले बताए ।

विज्ञ उप्रेतीले विकासोन्मुख देशहरूमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि सय बिलियन अमेरिकी डलर सहायता गर्नुपर्ने माग संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्न महासचिव गुटेरेसको नेपाल भ्रमणले बल पुग्ने बताए । नेपाल पर्वतीय, हिमाली र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएको हुनाले आफू जस्तै भौगोलिक अवस्थामा रहेका जी ७७ लगायतका मुलुकहरूको हितमा हुने गरी संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको भ्रमणमा आफ्ना कुरा राख्न सक्नुपर्ने पनि विज्ञ उप्रेतीले बताए ।

जलवायु विज्ञ उप्रेतीले महासचिव गुटेरेसको नेपाल भ्रमणले नेपाल जस्तै जलवायु परिवर्तनका कारण भएका असरका कुराहरू राख्न सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार नेपाल जलवायु परिवर्तनका हिसाबले जोखिममा रहेको छ । हानी नोक्सानी वित्तको बारेमा कसरी अघि बढ्ने भन्नेमा नेपालको स्पष्ट नीति नरहेको पनि उनले बताए ।

विज्ञ उप्रेतीले राष्ट्र संघका महासचिव गुटेरेससँग नेपालले जलवायु परिवर्तनसम्बन्धी दुबई सम्मेलनमा अतिकम विकसित देशहरूको अध्यक्ष राष्ट्रको हैसियतले पनि सम्बोधन गर्ने भएकाले पनि त्यसैमा केन्द्रित भएर छलफल गर्नुपर्ने उल्लेख गरे ।


Author

थप समाचार
x