एनआरएनएका अध्यक्ष बद्री केसी र महेश बस्नेतविरुद्ध उजुरी
फाइल फोटो
काठमाडौँ - आफूमाथि युवासंघका कार्याकर्ताले दुर्व्यवहार गरेको भन्दै ओम शर्माले प्रहरीमा उजुरी दिएका छन् ।
शर्माले एनआरएनएका अध्यक्ष बद्री केसी र नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका छन् ।
काठमाडौँस्थित एनआरएनको कार्यालयमा युवासंघको कार्यक्रम किन गरेको भन्दै प्रश्न गरेपछि शर्मामाथि युवासंघका कार्यकर्ताले कुटपिट गरेका थिए । कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ ।
शर्माले आज नै घरबाट आएको र केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर जाँदा आफूमाथि दुर्व्यवहार भएको बताए ।
उनले भने, 'केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन रु भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो ।'
आज नै एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार एनआरएनए कार्यालयमा भएको कुटपिटलाई लिएर ठाडो उजुरी परेको छ। ती अधिकारीले इकागजलाई भने, 'कुटपिटको विषयलाई लिएर निवेदन परेको छ । भोलि यस विषयमा छानबीन हुन्छ ।'
यता, महेश बस्नेतले भने ओम शर्मा र आरके शर्माले गलत हर्कत गरेर युवासंघलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । बस्नेतले एनआरएनए अध्यक्षमा पराजित समूह आर के शर्मा र ओम शर्मासहितको समूहले गलत हर्कत गर्दै प्रचार गरेको बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'NRNA को नवनिर्वाचित अध्यक्ष डा बद्री के सी लाई बधाई दिन,भएको कार्यक्रममा पराजित समुह आर के शर्मा र जनार्दन शर्माको भाइ ओम शर्मा सहितको समुहले गलत हर्कत गर्दै प्रचार गरेका छन। NRNA को निर्वाचित टिमलाई अफिसिएल गतिबिधि गर्न रोक्ने र युवा संघलाई आक्षेप लगाउने काम नगरे कै राम्रो ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया