समाज

सशस्त्र प्रहरीले सुरु गर्‍याे नेपाल-भारत सीमा स्तम्भको मर्मत

इकागज |
कात्तिक १६, २०८० बिहीबार २०:१२ बजे

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले नेपाल-भारत सीमा स्तम्भको मर्मत तथा रङरोगन सुरुवात गरेको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले आज मधेश प्रदेशबाट मर्मत सुरु गरिएको जानकारी दिए ।

सीमासम्बन्धी नेपाल-भारतको पाँचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भमध्ये जोर नम्बरको सीमा स्तम्भ भारतीय सशस्त्र सीमा बलले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो । 


नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णयानुसार सन् २०१४ पश्चात मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भएबमोजिम मर्मत सुरु गरिएको उनले बताए । 

पहिलो चरणमा मधेश प्रदेशमा रहेका एक हजारभन्दा बढी सीमा स्तम्भको मर्मत हुने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जनाएको छ । खड्काका अनुसार आज मधेश प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाबाट सीमा स्तम्भको मर्मत सुरु गरिएको छ ।

धनुषास्थित नेपाल-भारत दशगजामा रहेको सीमा स्तम्भबाट मर्मतको थालनी गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रूपमा सीमाको सुरक्षा गर्न सहज हुने बताए । 

उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मतको जिम्मेवारी प्राप्त भएकाले स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिको सहयोग र सहकार्यमा काम गरिने बताए । रासस


Author

थप समाचार
x