समाज

न्याय माग्दा डर, त्रास र धम्की आए, तर मेरो टिमले मेरो साथ छोडेन : भारती मानन्धर

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १५:१६ बजे

काठमाडौँ- संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल 'रिगल' को आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छिन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।

भारतीले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आए पनि अन्ततः न्याय पाएको जिकिर गरिन् । उनले आफ्नो टिमले कुनै पनि लोभ लालचमा नलागिकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको भनाइ राखिन् ।


उनले भनिन्, ‘बीचमा धेरै बाधाहरू आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर, मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागि लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।


Author

थप समाचार
x