लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप
लुम्बिनी- हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।
नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले आज लुम्बिनीस्थित शान्ति दीपमा प्रज्वलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न दीप हस्तान्तरण गरे ।
उपाध्यक्ष डा लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण सङ्घका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही सङ्घका महासचित शिवबहादुर सापकोटालाई संयुक्त रूपमा हस्तान्तरण गरे ।
उपाध्यक्ष डा लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनीबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर पुर्याँदा विश्वभरि नै सन्देश प्रवाह हुने बताए । उनले विश्व मानव जगतमा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गौरवको विषय भएको बताए ।
शान्ति दीपमा प्रज्वलन गरिएको उक्त दीपलाई लामा गुरुहरूबाट स्वस्ति शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो ।
लुम्बिनीबाट लगिने उक्त दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौँ हुँदै सगरमाथा आधार शिविर कालापत्थर पुर्याइने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत उक्त स्थानमा प्रज्वलन गरिने छ । कात्तिक २५ दिन एक समारोहका बीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने सङ्घका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताए ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्रसङ्घको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया