समाज

कालीगण्डकीले बगाउँदा आमाको मृत्यु, बालक गम्भीर

इकागज |
कात्तिक १७, २०८० शुक्रबार २२:९ बजे

फाइल तस्बिर

पर्वत- पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीय छोरा गम्भीर घाइते भएका छन् । 

पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार वर्षीय बालकलाई नदीले बगाएपछि उद्धार गर्न जाँदा आमा रितुलाई पनि बगाएको थियो । 


दुवै जनालाई उद्धार गरी कालीगण्डकी अस्पताल मिर्मिमा पुर्‍याउने बित्तिकै आमाको मृत्यु भएको हो भने चार वर्षीय बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते बालकलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

नुहाउन गएका बच्चाका बुवा र मृतककी बहिनी भने सकुशल रहेको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x