समाज

भूकम्प पीडितलाई बुद्ध एअरको १ करोड सहयोग, राहत सामग्री ढुवानीमा सहयोग गर्ने

इकागज |
कात्तिक १८, २०८० शनिबार १४:४७ बजे

काठमाडौँ- बुद्ध एअरले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी बुद्ध एअरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको हो ।

शनिबार अपरान्ह ट्विटरमार्फत एक सूचना जारी गर्दै सो एअरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ ।


‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बुद्ध एअर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’

 


Author

थप समाचार
x