साइकलमा मेची-महाकाली गर्ने ‘च्याङबा दाइ’
काठमाडौँ- रमेश तामाङ ( च्याङ्बा) हिजोआज झापाको बाहुनडाँगीमा भेटिन्छन् । कुनै समय झापाको फाँटमा भेटिन्थे । घर बनाउनका लागि इट्टा र ढुंगा दिने हातहरू अहिले घरमै थकाइ मार्न थालेका छन् ।
घर बनाउने मिस्त्रीको रुपमा चिनिने तामाङले हाल आफ्नै छुट्टै परिचय बनाएका छन् । साइकलमा कुद्ने ‘च्याङबा दाइ’ । उनी बेलाबखतमा साइकलमा बिर्तामोड र चारआलीमा झर्छन् । उनलाई चारआलीसम्म आइपुग्न २ घण्टा लाग्छ । बजार र दोकानमा के-के नयाँ कुराहरू देखा परे भन्दै अवलोकन गर्न पुग्छन् । मनपरेमा किन्छन् र साथमा पैसा नभए अर्को पटक आएर भए पनि किनेर लान्छन् ।
यो पटक भने उनी कोशी प्रदेशको झापाकै प्रसिद्ध बजार मानिने चारआलीमा भेटिँदा उत्साहित थिए । जहाँ उनी जस्ता गरिखाने र रहर लागेर पुग्नेहरू बिहानै सडक किनारामा भेटिन्छन् । यसपालि बजार आउनुको कारण अनौठो थियो, राष्ट्रिय झण्डा फेर्नु । उनीसँग भएको झण्डा पुरानो र च्यातिएको थियो ।
साइकलमा लेखिएको छ,' जय मातृभूमि सुन्दर बिहानी ।' उनी प्रकृतिप्रेमी पनि सुनिन्छन् । हामी सबैलाई प्रकृतिले निर्माण गरेको हो । हरेक मानिसको जीवनमा सुन्दर बिहानीले राम्रो संकेत गर्छ,' लेखेका अक्षरलाई संकेत गर्दै बोले,' हरेक मानिसको जीवन सुन्दर बिहानीसँग सुरुवात हुन्छ ।'
झण्डा घरमा वा कोठामा सजाएर राख्नु थिएन । उनलाई नयाँ झण्डा साइकलको हेण्डिलमा सजाउनु थियो । यही कारण अरुको साइकलभन्दा उनको साइकल फरक देखिन्छ ।
साइकलमा हरदम खादा पनि झुण्डाइएको हुन्छ । साइकलको विभिन्न भागलाई रातो, हरियो र पँहेलो छ रंगले पोतिएको छ । । उनी उमेरभन्दा फुर्तिलो देखिन्छन् । रातो रंगले दिने जोश उनको जीवनमा पनि झल्किन्छ । भन्छन,’ दुई दिनको जीवन छ । सबैसँग बोल्ने र हाँस्ने हो । रिसाएर केही पाइँदैँन ।‘
तामाङ बाहुनडाँगीदेखि झापा र चारआलीसम्म साइकलमा ओहोरदोहोर गर्छन् । ‘मेरो सबैभन्दा भरपर्दो साधन साइकल हो । जहाँसुकै जानु परे पनि यही साइकलमा जाने गरेको छु,’ साइकललाई देखाउँदै उनले भने ।
५७ वर्षीय तामाङ केही महिना अघि मात्र पूर्वी सिमाना मेचीदेखि महाकालीसम्म पुगे । महाकालीको यात्रामा निस्कँदा उनको साथी यही साइकल थियो । साइकलमै उनले महाकालीको किनारलाई पैताला र टायरले छोएका थिए ।
‘साइकलमा महाकाली पुग्न १३ दिन लागेको थियो ,’ उनले भने,’ बिस्तारै बिस्तारै गएँ । त्यतिका दिनसम्म बाटामा कुनै पनि दुःख भोग्नु परेन ।‘
बाहुनडाँगी १ वडा कार्यालयको सहयोगमा उनी पश्चिम नेपालको सीमाना पुगे । वडाअध्यक्षले उनलाई २६ हजार रुपैयाँ दिएका थिए । खाना र बस्नका लागि उनलाई वडाले व्यवस्थापन गरेको थियो ।
‘साइकलमा ७७ जिल्ला घुम्ने चाहना छ,’ उनी भन्छन्,’ नयाँ साइकलमा बाँकी ठाउँ घुम्न मन छ । कसैले नयाँ साइकल किन्दिएमा सहजै यात्रा गर्न हुन्थ्यो ।‘
उनले बाहुनडाँगीकै एकजना अर्जुन सहृदयीको सहयोगमा महाकालीसम्मको साइकल मार्चपास गर्ने साहस जुटाए । उनको साइकलमा ब्याट्री जडान गरिएको छ । उनले हर्न र लाइट ब्याट्रीको माध्यमबाट चलाउने गरेका छन । साइकल मर्मतका लागि वर्षमा चार हजार रुपैयाँ खर्च गर्छन् ।
उनले कक्षा ४ सम्म मात्र अध्ययन गरेका छन् । गरिबी र चेतनाको कमीले पढ्न नपाएको उनले गुनासो गरे । उनी परिवारविहिन छन । दुई सन्तानका पिता भए पनि तामाङ एक्लो जीवन बाँचिरहेका छन् । ‘छोरा र छोरी छन् तर म एक्लै छु । छोरा बिर्तामोडमा काम गरेर बस्छ भनेको सुनेको छु,’ मलिन अनुहार लगाउँदै बोले,’ कस्तो अवस्थामा छ । कहाँ बस्छ केही थाहा छैन । मलाई भेट्न पनि आउँदैन ।‘
त्यसो त उनलाई छोरीले भने साथ दिएकी छन् । वैदेशिक रोजगारमा पुगेकी छोरीले समय-समयमा खर्च पठाउँछिन् । बेलाबेलामा नाति-नातिनालाई भेट्ने जान्छन् । अर्काको घरमा जाने सन्तान भए पनि छोरी नै काम लागेको उनी बताउँछन् ।
अहिले भने आफ्नो सानो घर र बारीको सुपारीलाई हेरेर बसेका छन् । २ कठ्ठामा १ सय १५ वटा सुपारीको बोट छन् । सुपारीलाई गोबर मल लगाउँछन् । बजारमा पाइने रासायनिक मल लगाउनु नपरेको उनले सुनाए ।
‘गाउँ-गाउँमा सुपारी व्यापारी घुम्दै आउँछन्,’ उनले अगाडि थपे,’ नेपाली व्यापारी भन्दा पनि भारतीय व्यापारी आइपुग्छन् । आँगनमा आउने भारतीय व्यापारीले बढी मूल्य तिर्ने गरेका छन् ।‘
मेची खोलाले भारत र नेपालको सीमाना छुट्याएको छ । सीमा पारि देख्ने गाउँले भन्दा आफ्नै वातावरणले उनलाई भुलाएको छ । मेची सुसाएको उनको कानमा पर्छ । तर, उनको जीवन भने सुस्त सुस्त चलिरहेको छ । जसै साइकलको पाइडल सुस्त सुस्त चल्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया