आठविसकोटमा आइपुग्यो राहत सामग्री
फाइल तस्बिर
त्रिवेणी (रुकुम पश्चिम)- रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प पीडितलाई राहत सामग्री आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत् आठविसकोटमा राहत सामग्री पठाएको हो ।
आजदेखि भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् नगरपालिकामा पहिलो चरणमा बिस्कुट, चाउचाउ, त्रिपाललगायत सामग्री आइपुगेको आठविसकोट नगरपालिकाका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए । उनका अनुसार अन्य ठाउँबाट पनि राहत सामग्री आउने क्रम जारी छ ।
नगरपालिकाबाट दाल, चामल, नुन, तेललगायत आवश्यक सामग्री तयार गरेर भूकम्प प्रभावित क्षेत्रमा जाने तयारी भइरहेको आठविसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए । पहिलो चरणमा २८ परिवारलाई राहत सामग्रीसँगै बस्नका लागि त्रिपाल वितरण गरिने छ । आजै प्रभावित क्षेत्र आठविसकोट–११, १२, १३ र १४ वडाका भूकम्प पीडित परिवारलाई राहत सामग्री वितरण गरिने उनले जानकारी दिए ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया