समाज

भिजिट भिसामा विदेश पठाउन नक्कली कागजातहरू बनाउने गिरोह सार्वजनिक

इकागज |
कात्तिक १९, २०८० आइतबार १६:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।​ आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौँका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, प्लसटुको नक्कली सर्टिफिकेट, नक्कली नाता प्रमाणित डकुमेण्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताए । उनले अनुसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायी घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताए ।


नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरूमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल,गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौँका साईरस विशंखे, काठमाडौँका दीपक के.सी र सल्यानका बलबहादुर रावत रहेको उनले बताए । उनले अनुसन्धानका क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जिकिर गरे ।

एसएसपी राठौरका अनुसार गिरोहले भिजिट भिसामा नक्कली कागजातमा पठाउने विषयमा कतिपय मानिसहरूलाई थाहा समेत नभएको पाइएको छ । उनले विदेश जानका लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको बताए ।

प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजातहरू बरामद गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक के.सीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत् विभिन्न व्यक्तिहरूबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरू बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ । 

 


Author

थप समाचार
x