समाज

नेपालगञ्जका घाइते आफन्तको शोकमा

इकागज |
कात्तिक १९, २०८० आइतबार १७:१९ बजे

नेपालगञ्ज- बाँकेस्थित भेरी अस्पतालमा जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार भइरहेको छ । उपचाररत उनीहरू यति बेला भूकम्पबाट निधन भएका आफन्तको शोकमा छन् ।

भूकम्पमा घाइते भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ की नविता खत्री अहिले शोकमा छिन् । उनको नौ वर्षीय छोरा निर्जलको निधन भएको छ भने चार महिनाका छोरा घाइते छन् । 


उनलाई शनिबार भेरी अस्पताल नेपालगञ्जमा थप उपचारका लागि ल्याइएको थियो । उनको कुम र टाउकाेमा चोट लागेको छ । 'सुरुमा एउटा धक्का आयो, उठ्छु भन्दाभन्दै झन ठूलो भूकम्प आयो,' खत्रीले भनिन्, 'त्यस बेला अब मर्छु भन्ने लागेको थियो । आधा घण्टा हारगुहार गरेपछि उद्धार भयो ।' सुरुमा उनको स्थानीय स्तरमा प्राथमिक उपचार भएको थियो । 

बाँकेबाट मामाघर गएकी कोहलपुरकी २२ वर्षीया ईसा शाहले पनि आफ्ना तीन दिदी गुमाएकी छिन् । दसैँ मनाउन मामाघर जाजरकोट गएकी उनी शुक्रबार सानीआमाको घरमा गएकी थिइन् । काठमाडौँमा स्नातक पढ्दै गरेकी शाहले भूकम्पमा च्यापिएपछि करिब एक घण्टासम्म उद्धारका लागि चिच्याइरहेको बताइन् ।

'हामी सँगै सुतेका थियौँ । मैले धेरै पटक दिदीहरूलाई बोलाए तर बोल्नुभएन,' उनले भनिन् । भूकम्पमा गुमाएका दिदीहरू ठूली आमाका छोरी भएको शाहले बताइन् । उनले दिदीहरू मेरिना आरसी, ऊर्जा सिंह र उपासन सिंहलाई गुमाएको बताइन् । 

जाजरकोटकी कृष्णा परियार भूकम्पमा दुई छोरा, एक छोरीसहित घाइते भएका छन् । 'हामी माथिल्लो तलामा सुतेका थियौँ । एक्कासी एकै झड्कामा हामी सबै ढल्यौँ,' उनले भने । सुतेको बेलामा घरको छाना ढुङ्गाले च्यापिएर आफूहरू घाइते भएको परियारले जानकारी दिए । घरको कुनै नाम निशाना नभएको जनाउँदै उनले आफूहरूलाई पुरिएका अवस्थामा उद्धार गरिएको बताए । 

'म त पुरिएको अवस्थामा बेहोस थिए । उद्धार गरेपछि चेत आयो,' घटना विवरण सुनाउँदै परियारले भने, 'म बच्चासँगै खाटमा सुतेकी थिएँ । छोरीले बचाउबचाउ भनिरहेकी थिइन् । माथिल्लो तलामा सुतेकाले भाग्न सकेनौँ ।' उनका श्रीमान् भारतमा रोजगारीमा छन् । उनी आजै घर फर्किँदै छन् ।  

जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पमा घाइते भएकाको भेरी अस्पताललाई विशेष सेवा प्रदायक (डेडिकेडेट) अस्पतालका रूपमा स्थापना गरी उपचार भइरहेको छ । कोहलपुर मेडिकल कलेजमा भएका एक जना बिरामीलाई भेरीमा स्थानान्तरण गरेर उपचार भइरहेको अस्पतालका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार अस्पतालमा घाइतेहरू ३८ जनाको उपचार भइरहेको छ । 

'यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । भूकम्पमा गम्भीर घाइते भएका पाँचको शल्यक्रिया सफल भएको छ,' श्रेष्ठले भने, 'सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ ।' उनका अनुसार उपचार गराइरहेका मध्ये जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक जना छन् । रासस


Author

थप समाचार
x