समाज

टिकटकले सामाजिक सद्भाव भड्काउने खालको भिडियो हटाउने

इकागज |
कात्तिक १९, २०८० आइतबार १७:५५ बजे

काठमाडौँ- अबदेखि टिकटकले सामाजिक सद्‌भाव भड्काउने खालको भिडियो आफैँ हटाउने भएको छ । सामाजिक सञ्जालको दुरुपयोग र गैरकानुनी भिडियो स्वतः हटाउन मिल्ने गरी नेपाल प्रहरीको साइबर ब्यूरो र टिकटकबीच छलफल भएको छ ।

आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी गैरकानुनी भिडियो स्वतः हट्ने गरी साइबर ब्यूरो र सिंगापुरस्थित टिकटकको कार्यालयबीच छलफल भएको जानकारी दिएको हो ।


शुक्रबार गृह मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,  सुरक्षा निकाय, सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू बीच छलफल भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

टिकटकमार्फत सामाजिक सद्‌भाव खल्बल्याउने र घृणा तथा विद्वेष फैल्याउनेलाई कारबाही गर्न सजिलो हुने उनले बताए । ‘विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्‌भाव बिगार्ने र अश्लील खालका पोष्टहरू हटाउन र त्यस्ता व्यक्तिहरू पत्ता लगाई कानुनी कारबाही गर्न सहज हुनेछ,’ उनले भने ।

जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्‌भाव नबिगार्ने भिडियो मात्र प्रशारण गर्न भट्टराईले आव्हान गरे । असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी काम गरेमा कानुनी कारबाहीबाट बच्न सबैलाई उनले अनुरोध गरे ।


Author

थप समाचार
x