विपिन जोशीको सकुशल रिहाइको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन
दोधारा चाँदनी- प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल रिहाइको माग गर्दै आज महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।
विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 'आफ्नै छोरा सम्झेर जस्तो अवस्थामा भए पनि मेरो छोरालाई ल्याइदिनूस्,' आमा पद्माले भक्कानिँदै भनिन्, 'जतिसक्दो चाँडो छोराको उद्धार गरिदिनूस् ।'
इजरायली सरकारले विपिन हमास समूहको नियन्त्रणमा रहेको पुष्टि गरेपछि उनको परिवारमा केही आशा पलाएको छ । विपिनका बुबा महानन्द जोशीले विपिन सकुशल नेपाल फर्किने आशा रहेको बताए । 'हामीलाई अझै आशा छ सरकारले छोरालाई सकुशल उद्धार गर्ने छ,' महानन्दले भने, 'हामी विपिनको प्रतीक्षामा छौँ, तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिनूस् ।'
नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ र मानव अधिकारवादी सङ्घसंस्थाहरूले तत्काल छोराको उद्धारमा सहयोग गर्न आग्रह गरे । र्यालीमा जोशीका बुबासँगै आमा पद्मा र बहिनी पुष्पा पनि सहभागी थिए । महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको र्याली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो ।
प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए ।
सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर क्याम्पसमा कृषि सङ्कायमा आठौँ सेमेष्टरमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इजरायल गएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया