समाज

भूकम्पमा घाइते गर्भवती महिलाको पेटबाट निकालियो मृत बच्चा​

इकागज |
कात्तिक २०, २०८० सोमबार १६:२५ बजे

सुर्खेत- भूकम्पमा परी घाइते भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका–६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो ।

घाइते गर्भवती महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेटभित्र आठ महिनाको गर्भ रहेको र पेटभित्रै बच्चा मृत अवस्थामा रहेको पाइएपछि औषधिमार्फत् मृत बच्चालाई बाहिर निकालिएको छ ।


डा.नवीन बुढाथोकी र प्रसूति कक्षका नर्सिङ टिमले उनको पेटमा रहेको आठ महिनाको पुरुष मृत बच्चालाई बाहिर निकाल्नका लागि औषधिबाट व्यथा लगाई गएराति ७ः२० बजेको समयमा सामान्य सुत्केरी गराइएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । घाइते गर्भवती महिलाको बच्चा पेटबाट बाहिर निकाली सकेपछि थप जाँच तथा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

मृत बच्चाको सोमबार बिहान जमिनमा गाडेर शव व्यवस्थापन गरिएको छ ।


Author

थप समाचार
x