समाज

भूकम्प प्रभावित क्षेत्रमा के गर्दैछन् कर्णालीका मन्त्रीहरू ?

इकागज |
कात्तिक २०, २०८० सोमबार १७:६ बजे

सुर्खेत- कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा आ आफ्नो जिम्मेवारी बाँडफाँट गरी अघि बढेका छन् । मन्त्रिपरिषद्को छलफलपश्चात मन्त्रीहरू आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् । भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहत व्यवस्थापनलाई व्यवस्थित गराउनका लागि मन्त्रीहरू पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्मा आज बिहानैदेखि प्रभावित क्षेत्रमै रहने छन् । त्यस्तै अर्थमन्त्री बेदराज सिंह पनि जाजरकोटमा रहने छन् । उनी शनिबारदेखि नै जाजरकोटमा सक्रिय रहेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेलले सुर्खेतमा बसेर आवश्यक राहतको व्यवस्थापनदेखि आपूर्तिलगायतका कामहरू गर्ने छन् ।


प्रदेशबाट गर्ने आवश्यक सामग्रीहरू एकद्वार प्रणालीमार्फत् जिल्लाहरूमा पठाउनका लागि मन्त्री जिसी शनिबारदेखि नै सुर्खेत विमानस्थलमा रहेर काम गरिरहेका छन् । कृषिमन्त्री भीमप्रकाश शर्मा रुकुम पश्चिम सल्यानमा खटिने भएका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही भौतिक संरचनाको तथ्याङ्क संकलनदेखि अभिलेख राख्नेलगायतका कार्यमा सक्रिय हुने बताइएको छ ।

प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुट्याएको रकम अबको केही दिनभित्र पालिका पठाइने छ । जसका कारण पालिकाहरूले सहज रूपमा राहत सामग्री खरिद गर्न सकिने सरकारका प्रवक्ता एवं कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानीलगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने भएकी छन् । उनी आजदेखि जाजरकोटमा छिन् ।


Author

थप समाचार
x