थामी नसक्नु भिड छ असनमा
तस्बिर : अनुज बज्राचार्य/इकागज
काठमाडौँ- काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गरेकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउँछिन् ।
'केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ । विशेष गरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य छ । व्यापार पनि उल्लासमय बन्दै गएको छ', उनी भन्छिन् ।
शुभ दिपावली नजिकिएसँगै काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी लगायतका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टिका, तामा, पित्तलका भाँडा, भाइमसलालगायतका सामग्री किन्ने मानिसको घुइँचो देखिन्छ ।
तीन वर्षदेखि भाइ मसालाका सामग्री बजारबाट ल्याई आफैँ प्याकेजिङ गर्दै आएकी तुलाधर दिउँसोको समयमा व्यापार र राति प्याकेजिङको काम गर्ने गरेको बताउँछिन् । 'भाइ मसलाको लागि सामान बाहिर बजारबाट ल्याएका हुन्छौँ । दिउँसोको समयमा व्यापार गर्छौँ । राति मलगायत अन्य साथीले प्याकेजिङको काम गर्छौँ । यसरी गरिएको व्यापारबाट आम्दानीमा केही वृद्धि हुन्छ', उनी भन्छिन् ।
असनचोकमा फुटपाथमा व्यापार गर्दै आएकी शारदा शाहीले विगत ३० वर्षदेखि माटोका दियो लगायतका केही पूजा सामाग्री बेच्दै आएकी छन् । आफ्ना बाबुआमाले परापूर्वदेखि गर्दै आएको पेसालाई अँगाल्दै आएकी शाहीले अन्य समयमा फलफूल तथा पूजाका सामग्री बेच्थिन् ।
शाहीले चाडवाड लक्षित व्यापारमा महानगरले सबै व्यापारीलाई समान व्यवहार नगरेको बताउँछिन् । 'महानगरले एउटै ठाउँमा एकातिर फुटपाथ राख्न दिन्छ अर्कोतिर हटाउँछ । चाडवाडको समयमा दुई चारदिन फुटपाथमा व्यवस्थित तरिकाले व्यापार गर्न दिनुपर्छ । त्यो व्यवस्था महानगरले गर्नुपर्छ', उनी बताउँछिन् ।
व्यापारिक क्षेत्रको रुपमा रहेको असन क्षेत्रलाई व्यवस्थित गर्न असन सेवा समिति भएपनि अस्तव्यस्त रहेको उनी बताउँछिन् । २० वर्षदेखि असनचोकमा तिहारको समयमा मखमली फूलको व्यापार गर्दै आएकी सुनिता उप्रेतीले तिहारमा व्यापार सन्तोषजनक भएता पनि अन्य समयमा नभएको बताउँछिन् । 'तिहारमा व्यापार सन्तोषजनक छ । अन्य समयमा छैन । तिहारको पाँच/सात दिन गरिने व्यापारले वर्षभरिलाई पुर्याउनुपर्ने वाध्यता छ ।'
अन्य समयमा तरकारी व्यापार गर्दै आएकी उप्रेतीले तिहार नजिकिएसँगै सर्वसाधारणको माग तिहार केन्द्रित सामग्रीमा हुनाले र छोटो समयमा तुलानात्मक रुपमा आम्दानी बढी हुनाले मखमली फुलको माला बिक्री गरेको बताउँछिन् । जताजतै व्यापारीको कोलाहलमा तिहारका सामाग्री किन्ने सर्वसाधारणको घुइँचोले अहिले असनचोक अस्तव्यस्त बनेको छ । व्यापारिक केन्द्रका रुपमा रहेको असन, इन्द्रचोक मानिस, सवारी साधनको आवतजावतले व्यस्त देखिन्छ ।
इन्द्रचोकमा तिहारको लागि झिलीमिली बत्ती बिक्री गर्दै आएका कुलप्रसाद महतोले चाडवाडको बेला व्यापार सुरु गरे । आफ्ना भाइले गर्दै आएको व्यापारबाट आकर्षित भएर यसपटक महतोले पनि झिलीमिली बत्ती बिक्री गर्छन् । व्यापारिक अनुभव नभएका कारण व्यापार सन्तोषजनक नभएको उनी बताउँछन् । 'भाईको व्यापारबाट आकर्षित भएर मैलेपनि व्यापार सुरु गरे तर व्यापारिक अनुभव कम भएका कारण खासै व्यापार छैन' उनले भने ।
महतोजस्तै इन्द्रचोकमा चप्पलको व्यापार गर्दै आएका कृष्ण यादवले तिहार नजिकिएसँगै सप्तरङ्गी टिकाको व्यापार गर्दै आएको बताउँछन्, 'वर्षमा पाँच/सात दिन गरिने सप्तरङ्गीको व्यापार सन्तोषजनक रहने तर अन्य समयमा व्यापार सामान्य रहने गरेको छ । हिजोआज रङ्ग लैजाने मानिसको चाप बढ्दो छ', उनी भन्छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया